गोडैतामा प्रहरीको लाचारी: प्रमुख अवधेशको निष्क्रियताले बढायो अपराधको सन्त्रास

२०८२ श्रावण १०, शनिबार ०७:४६

गोडैता – सर्लाहीको गोडैता बजारमा पछिल्ला केही सातादेखि चोरी, डकैती र लुटपाटका घटनाहरू श्रृंखलाबद्ध रूपमा बढिरहेका छन्। प्रहरी चौकीको छेउछाउमै भएका यस्ता गम्भीर आपराधिक गतिविधिहरू प्रहरीको मौनता र निष्क्रियताले झन् शंकास्पद बन्दै गएका छन्।

गएको सोमबार राति गोडैता नगरपालिका–८ मा सुरुङ खनेर चार घरमा एकसाथ चोरी भयो। लाखौं रुपैयाँ नगदसहित गरगहना, सामानसमेत चोरेर चोरहरू फरार भए। डरलाग्दो त के भने घटना गोडैतास्थित प्रहरी चौकीबाट केही दुरीमै घटेको हो। यसअघि पनि त्यही वडाको अर्को एक घरमा यस्तै शैलीमा चोरी भएको थियो।

केही दिनअघि पनि यस्तै चोरी र एक युवकलाई पेस्तोल देखाएर लुटिएको घटनाले गाउँमा त्रास फैलिएको छ। तर गोडैता प्रहरी चौकी र यसका प्रमुख प्रहरी नायव निरीक्षक (सई) अवधेश प्रसाद यादवको लापरबाहीले स्थानीयको असुरक्षा झनै बढेको छ।

गोडैता प्रहरी चौकी जुन जनताको सुरक्षाको ग्यारेन्टी गर्न स्थापना भएको हो, त्यहाँको नेतृत्वले आफ्नो जिम्मेवारीप्रति गम्भीर उदासीनता देखाएको छ। प्रमुख अवधेश प्रसादले यी घटनाबारे सोध्दा “यस्ता घटना भएको छैन, बाँकी आफूले बोल्न नमिल्ने” भन्दै पन्छिन खोजे, जबकि गाउँमा यस्ता अपराध दिनदिनै बढिरहेका छन्। प्रहरीको यो गैरजिम्मेवार जवाफले स्थानीयमा आक्रोश र निराशा छाएको छ।

थप चिन्ताजनक कुरा के छ भने स्थानीयहरू प्रहरी चौकीमा उजुरी गर्नसमेत डराउँछन्। ‘प्रहरीले हाम्रो कुरा सुन्दैन, बरु उल्टै झन्झट गर्छ,’ एक स्थानीयले नाम नखुलाउने सर्तमा भने। प्रहरीप्रति यस्तो अविश्वासको मुख्य कारण प्रमुख अवधेश प्रसादको निष्क्रिय नेतृत्व र चौकीको कमजोर कार्यशैली रहेको गाउँलेहरू बताउँछन्।

रातको समयमा गस्ती नहुनु, अपराधीहरूलाई पक्रन कुनै ठोस रणनीति नहुनु र स्थानीयसँग समन्वयको अभावले गोडैता असुरक्षाको दलदलमा फस्दै गएको छ। यी घटनाहरूले गोडैता प्रहरी चौकी र प्रमुख अवधेश प्रसादको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। जब प्रहरीले नै अपराधलाई बेवास्ता गर्छ र जनताको विश्वास गुमाउँछ, तब गाउँको शान्ति र सुरक्षा कसरी कायम होला ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार