सर्लाहीमा सडक दुर्घटना घट्यो, मृतक संख्या २३ प्रतिशतले कम

२०८२ श्रावण १०, शनिबार २०:२१
एक आपसमा ठोक्किँएका मोटरसाइकल (फाईल तस्बिर)

मलंगवा – सर्लाहीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पछिल्लो एक वर्षमा झण्डै २३ प्रतिशतले घटेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ७३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म उक्त संख्या घटेर ५६ मा सीमित भएको हो। गम्भीर घाइते हुनेको संख्या पनि अघिल्लो वर्षको ६१४ बाट घटेर हाल ५०१ मा झरेको छ। यद्यपि, सामान्य घाइतेको संख्या भने उल्लेख्य रूपमा बढेर ५०४ बाट १,१८० पुगेको कार्यालयले जनाएको छ।

दुर्घटनामा आएको यो सुधार ट्राफिक प्रहरीको सक्रिय कारबाही, प्रविधिको प्रयोग र जनचेतनामूलक अभियानको संयुक्त प्रभावका रूपमा लिइएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा २० हजार ३४ वटा सवारीसाधनमा कारबाही गरी २ करोड २ लाख १८ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाउने ५१४ चालकलाई नियन्त्रणमा लिई २ लाख ६५ हजार रुपैयाँ जरिवाना तिराइएको छ भने क्षमता भन्दा बढी भार बोक्ने सवारीमाथि कारबाही गर्दै ४ लाख ४५ हजार रुपैयाँ राजस्व उठाइएको छ।

लामो दूरीमा चल्ने सार्वजनिक सवारीहरूमा दुई चालकको व्यवस्था सुनिश्चित गर्न ट्राफिक कम्युनिकेशन एप प्रयोग गरिएको छ। सोही क्रममा २३४ वटा गाडीमा दोहोरो चालक नदेखिएपछि ती सवारीमाथि कारबाही गरिँदै २ लाख ३४ हजार रुपैयाँ संकलन गरिएको छ। ट्राफिक प्रहरीले चालु वर्षभर मात्रै २ हजार १ सय ४५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख २५ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन्।

‘अन द स्पट’ सचेतना, स्कुल बस तथा यात्रुवाहक सवारी चेकजाँच, चाडपर्व लक्षित अभियान, सडक प्रयोगकर्तासँग संवाद, अल्पसंख्यक समुदाय र साइकल तथा उखु ढुवानी गर्ने सवारी चालक लक्षित कार्यक्रमजस्ता विविध क्रियाकलाप सञ्चालन गरिएका छन्। साथै, चालक तथा सहचालकहरूको आँखा जाँच र स्वास्थ्य परीक्षण, विद्यालयमा ट्राफिक शिक्षा, महोत्सवहरूमा ट्राफिक स्टल प्रदर्शनी लगायतका कार्यक्रम पनि सञ्चालन गरिएका छन्।

ट्राफिक प्रहरीको पहलमा कर्मैया र फुलजोर क्षेत्रमा अस्थायी ट्राफिक पोस्ट स्थापना गर्दै आधुनिक टीभीआरएस प्रणाली लागू गरिएको छ। ईश्वरपुर नगरपालिकाको सहकार्यमा फुलजोर ट्राफिक पोस्टको प्रशासनिक भवनसमेत निर्माण भई सेवा विस्तार गरिएको छ। प्रहरीका अनुसार, प्रविधिमैत्री प्रणाली, स्थानीय तहसँगको सहकार्य र जनचेतनामूलक कार्यक्रमको निरन्तरतामार्फत आगामी दिनमा सर्लाहीलाई अझ सुरक्षित ट्राफिक प्रणालीतर्फ उन्मुख गरिने लक्ष्य लिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार