सर्लाही – नेपाल सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै, सुख्खाबाट प्रभावित समुदायलाई लक्षित गर्दै स्टार्ट फण्ड नेपाल परियोजनाले ६० दिने आपतकालीन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बेलायत सरकारअन्तर्गतको रेसिलियन्स एक्सचेञ्ज नेटवर्क (RENN) कार्यक्रममार्फत सञ्चालित यो परियोजना पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका अति प्रभावित १० वटा पालिकामा लागू हुनेछ। कार्यक्रमको कुल बजेट २ करोड ६० लाख ३३ हजार ४७६ रुपैयाँ छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत मुख्यतः खानेपानी सेवा, कृषिमा आधारित जीविकोपार्जनको पुनःस्थापना र वैकल्पिक उपायको प्रवर्द्धन गरिनेछ।
खानेपानी आपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा गुणस्तरीय ढुवानी सेवा सञ्चालन गरिनेछ भने रणनीतिक स्थानमा गहिरा बोरहोल निर्माणको सम्भाव्यता अध्ययन हुनेछ। यस कार्यमा खानेपानी विभाग र स्थानीय सरकारको प्राविधिक नेतृत्व रहनेछ र सेवा निष्पक्ष वितरण गरिने बताइएको छ।
त्यसैगरी, धानबालीमा परेको असरलाई न्यूनीकरण गर्न तत्काल तथा मध्यमकालीन सहयोग प्रदान गरिनेछ। कृषि मजदुर लक्षित ‘क्यास फर वर्क’ कार्यक्रममार्फत उत्पादनशील पूर्वाधार जस्तै सिँचाइ तथा पानी आपूर्तिको पुनःस्थापना गरिनेछ। साथै, प्राविधिक साझेदारहरूको सहकार्यमा वैकल्पिक बालीहरूको प्रवर्द्धन गरिनेछ।
यस कार्यक्रमबाट सुख्खाबाट प्रत्यक्ष प्रभावित समुदायहरूलाई राहत मिल्ने र उनीहरूको जीविकोपार्जनमा स्थायित्व ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





