एक वर्षमा २३ सय भन्दा बढी प्रहरीको राजीनामा, असन्तुष्टि र वैदेशिक मोह मुख्य कारण

२०८२ श्रावण ११, आईतवार १७:०४

सर्लाही – गत आर्थिक वर्ष २०८१ साउनदेखि २०८२ असार मसान्तसम्मको अवधिमा नेपाल प्रहरीका २,३६९ जना प्रहरी कर्मचारीले स्वेच्छिक राजीनामा दिएका छन्। जवानदेखि अधिकृत तहसम्मका कर्मचारीले संगठनमा देखिएको सरुवा, बढुवा र वृत्तिविकासप्रतिको असन्तुष्टिका कारण जागिर छाडेका हुन्।

साथै, वैदेशिक रोजगारीमा आकर्षक अवसर पाएका केही प्रहरी पनि सेवाबाट अलग भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, कतिपय प्रहरी कर्मचारी भने अनुशासनहीनता र आपराधिक गतिविधिमा मुछिएपछि विभागीय कारबाहीको सामना गर्नुपर्ने स्थितिमा पुगेर राजीनामा दिएका छन्।

यस अवधिमा प्रहरी कार्यालयहरूमा आपराधिक घटनाका ५८,४७२ उजुरी दर्ता भएका छन्। तीमध्ये योजनाबद्ध हत्या सम्बन्धी ५१०, अपहरणका १४२, मानव बेचबिखनका १५२ र जबर्जस्ती करणीका २,३८७ मुद्दा रहेका छन्। प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार, दैनिक औसतमा १६० मुद्दा दर्ता हुने गरेका छन्।

आत्महत्या गर्नेको संख्या पनि चिन्ताजनक रहँदै गएको छ, गत वर्ष मात्रै ६,८५२ जनाले आत्महत्या गरेका छन्। यसैगरी, साइबर अपराधसम्बन्धी ११२ मुद्दा दर्ता भएका छन् भने इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएका ३४ मध्ये २० जनालाई विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार