सर्लाही – चीनको छेन्दु जियान फुड कम्पनीले सिन्धुलीको मारिण–४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार, यसका लागि उद्योग विभागले कम्पनीलाई झण्डै २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिसकेको छ।
प्रधानमन्त्री ओलीले जानकारी दिएअनुसार, उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैंसीको मासु उत्पादन गर्नेछ। यससँगै करिब ५५ हजार मेट्रिक टन सहायक सामग्री जस्तै छाला, भित्री अंगहरू र टाउको पनि प्रशोधन गरिनेछ।

उनका अनुसार, गत मंसीरमा चीन भ्रमणका क्रममा भएको सम्झौताका आधारमा यो लगानी प्रक्रिया अघि बढाइएको हो। “उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ,” ओलीले भने, “वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात हुने अनुमान छ।”
प्रधानमन्त्रीले यो उद्योग निर्यात वृद्धिको साथै रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुने बताए।





