मधेसमा आज ‘लगपाँच’ पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता

२०८२ श्रावण १३, मंगलवार ०७:५६

सर्लाही – मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा आज परम्परागत ‘लगपाँच’ पर्व श्रद्धापूर्वक मनाइएको छ। महोत्तरीसहितका स्थानमा नागदेवताको पूजा आराधना गरी यो पर्व मनाउने चलन छ।

यो विशेष दिनमा घरका भित्तामा गाईको गोबरले नागको चित्र बनाउने र त्यसमा दुबो, सिन्दुर, अक्षता, दूध तथा लावा अर्पण गर्ने परम्परा रहिआएको छ। गृहिणीहरू स्नान गरी शुद्ध भई आफैं नागको चित्र कोरेर पूजा गर्छन्।

महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त झाले ‘लगपाँच’को धार्मिक महत्वबारे जनाउँदै भने, “नागको पूजा गरेपछि वर्षभरि नागको डर रहँदैन भन्ने जनविश्वास छ।”

उनका अनुसार घरका चारै दिशा पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ भित्तामा नागको चित्र बनाइन्छ र मुख्यद्वारमा कागजमा बनाइएको नागको आकृति पनि टाँसिन्छ। ‘लगपाँच’ पर्वलाई मधेसमा वर्षभरि चल्ने पर्वहरूको सुरुआती चाडको रूपमा पनि लिइन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार