कश्मीरको पहलगाम आक्रमणका सबै संदिग्धहरूलाई मारिएको भारतको दाबी

२०८२ श्रावण १३, मंगलवार २१:२७

सर्लाही – भारतका गृहमन्त्री अमित शाहले कश्मीरको पहलगाममा अप्रिल महिनामा भएका प्राणघातक आक्रमणमा संलग्न तीनै जनालाई मारिएको दाबी गरेका छन्। संसदमा बोल्दै उनले ती सबै संदिग्धहरू हालै सुरक्षा बलद्वारा मारिएको घोषणा गरे।

शाहका अनुसार, सेना, अर्धसैनिक बल र स्थानीय प्रहरीको संयुक्त अपरेसनमा श्रीनगर बाहिरको दाचिगम क्षेत्रमा आक्रमणकारीहरूको अन्त्य गरिएको हो। “पहलगाम आक्रमणका तीन आतंककारी थिए, र तीनै मारेका छौं,” उनले भने। गत अप्रिल २२ मा पर्यटकहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा २६ जनाको ज्यान गएको थियो, जसमा एक नेपाली नागरिक पनि थिए।

अधिकांश पीडित हिन्दु तीर्थयात्री थिए। यस घटनापछि भारतले पाकिस्तानमाथि आक्रमणकारीलाई समर्थन दिएको आरोप लगाएको थियो, जुन इस्लामाबादले खारेज गरेको थियो। भारत–पाक तनाव यो घटनापछि चर्किएको थियो। मे महिनामा भएको चारदिने सीमापार द्वन्द्वमा दुबै पक्षबाट गरी ७० भन्दा बढीको मृत्यु भएको थियो।

गृहमन्त्री शाहले मारिएका तीनै जना पाकिस्तानी भएको उल्लेख गरे। तीमध्ये दुईजनाको सम्बन्ध लश्कर–ए–तैयबा नामक कट्टरपन्थी समूहसँग रहेको उनले बताए। शाहका अनुसार आक्रमणपछि उच्चस्तरीय सुरक्षा समीक्षा बैठक बसेको थियो, जसले कुनै पनि हालतमा ती आतंककारीहरूलाई पाकिस्तान फर्कन नदिने निर्णय गरेको थियो।

“यी तीनवटै राइफलहरूले निर्दोष नागरिकको ज्यान लिएका थिए भन्ने प्रमाणित भएको छ,” उनले कडाइका साथ भने। भारतीय सुरक्षाफौजको तर्फबाट जारी विज्ञप्तिमा पनि उक्त कारबाही श्रीनगरबाट झन्डै ३० किलोमिटर टाढाको पहाडी क्षेत्र दाचिगममा भएको पुष्टि गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार