धनकौलको राहत घोषणा: सुक्खा प्रभावितका लागि शून्य शुल्क, सिँचाइमा जोड

२०८२ श्रावण १४, बुधबार ०८:२४

धनकौल – मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणापछि सर्लाहीको धनकौल गाउँपालिकाले प्रभावित जनतालाई लक्षित राहत योजना सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि विशेष राहत नीति पारित गरेको हो।

निर्णयअनुसार मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर तथा प्रमाणपत्रको प्रतिलिपि दस्तुर अब पूर्ण रूपमा निःशुल्क हुनेछन्। पालिकाले किसानको सिँचाइ समस्या समाधान गर्न पहिलेबाट सञ्चालनमा रहेको डिप ट्युबवेल बोरिङ योजनालाई पनि निरन्तरता दिने निर्णय गरेको छ। सुक्खाको असर कम गर्न र कृषिमा राहत दिन यो योजना उपयोगी हुने जनाइएको छ।

पालिका अध्यक्ष साहका अनुसार, “संकटकालीन समयमा नागरिकको पीडामा राहत पुर्‍याउने उद्देश्यले निर्णय गरिएको हो।” स्थानीयवासीले पनि यो निर्णयलाई समयानुकूल र जनमुखी भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। पालिकाले सबै नागरिकलाई उपलब्ध सुविधा प्रयोग गर्न आह्वान गर्दै, यसलाई व्यापक रूपमा कार्यान्वयन गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार