सर्लाही – सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा एक ८० वर्षीय वृद्धको घरमै हत्या भएको छ। परिवारका अनुसार फनिलाल यादव गएराति सुतेकै अवस्थामा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो।
बिहान अबेरसम्म नउठेपछि परिवारले झकझक्याउँदा यादव गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनीलाई तत्काल लहानस्थित प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक यादव लहान – २४ का पूर्ववडाध्यक्ष कमलदेव यादवका पिता हुन्।

यादवका जेठा छोरा कपिलदेव यादवका अनुसार घटनापछि प्रहरीलाई तत्काल खबर गरिए पनि समयमै नआएको गुनासो छ। प्रहरी ढिलासुस्तीप्रति आक्रोशित बनेका स्थानीयले पूर्व–पश्चिम राजमार्ग टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरे।
उनीहरूले हत्यारा पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले घटना गम्भीर रहेको बताउँदै अनुसन्धान तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका छन्।





