आज साउन १५, खीर खाएर मनाइँदै

२०८२ श्रावण १५, बिहीबार ०७:५३

सर्लाही – नेपाली समाजमा आज साउन १५, खीर खाएर रमाइलो गरी मनाइँदैछ। असार १५ मा दही च्यूरा र साउन १५ मा खीर खाने चलन हाम्रो सांस्कृतिक परम्परा हो ।

साउने झरीसँगै हरियालीले गाउँघर ढाकिएको बेला गाई भैँसी पनि राम्रोसँग दूध दिन्छन्। यही समयमा दूध, चामल, मरमसला, सख्खर वा चिनी हालेर बनाइने खीरले स्वाद मात्र होइन, स्वास्थ्यमा पनि फाइदा गर्छ भन्ने जनविश्वास छ।

धार्मिक दृष्टिले पनि खीरको विशेष महत्व छ। संस्कृत भाषामा ‘पायस’ भनिने खीरलाई वैदिक शास्त्रमा सात्विक तथा पुण्य आहारका रूपमा वर्णन गरिएको छ। पितृ पूजा र देवकार्यमा पनि खीर अनिवार्य रूपमा चडाईने धर्मशास्त्रविद्हरु बताउछन।

“साउनमा खेतीपाती केही फुर्सदिलो हुन्छ, दूध प्रशस्त पाइन्छ, त्यसैले इष्टमित्र बोलाएर खीर खुवाउने चलन बसेको हो,” धर्मशास्त्रविद्हरुको भनाई छ। “खीर शरीरका लागि पनि पौष्टिक हुन्छ।”

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध र दूधबाट बनेका पदार्थ मन पर्ने भएकाले खीर चढाउने र प्रसादको रूपमा खाने परम्परा सुदृढ हुँदै गएको हो। परम्परागत चामलको खीरसँगै आजकल सावधाना, मकै, गाजर, सेवई आदि प्रयोग गरेर पनि विभिन्न स्वादका खीर बनाइन्छन्।

विशेषगरी साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर लोकप्रिय छ। साउन १५ ले स्वाद, स्वास्थ्य र संस्कारलाई एउटै भाँडोमा पकाएर नेपाली जीवनशैलीको मिठास झल्काउने परम्परा जोगाइ रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार