लामो समयपछि सर्लाहीमा वर्षा, किसान हर्षित

२०८२ श्रावण १६, शुक्रबार २१:३२

मलंगवा – सर्लाही जिल्लामा लामो समयको खडेरीपछि आज परेको वर्षाले किसान हर्षित भएका छन्। निरन्तर सुख्खा र पानीको अभावका कारण चिन्तित बनेका किसानले आज परेको पानीले पुनः आशाको किरण देखेका छन्। बर्षा अभावले खेत सुक्खा र बाली रोप्न नसकेको अवस्थामा आजको वर्षाले खेतीपातीमा ढिलो भए पनि गति दिने किसानहरुको भनाइ छ।

दिउँसोदेखि नै जिल्लाको उत्तरी भेग चुरे क्षेत्र, ईश्वरपुर, हरिवन, लालबन्दी र बरहथवा आसपासका क्षेत्रमा पानी परेपछि बिस्तारै वर्षा जिल्लाभर फैलिएको हो। जिल्ला सदरमुकाम मलंगवासहित दक्षिणी भेगका बलरा, हरिपुर, रामनगर, गोडैता, धनकौल, चन्द्रनगर, चक्रघट्टा लगायतका क्षेत्रमा साँझपख राम्रै मात्रामा पानी परेको स्थानीयले बताएका छन्।

साउन महिनाको दोश्रो सातामा पनि खेत सुक्खै थियो। रोपाइँ गर्न सकिएको थिएन। आजको पानीले अब खेतमा काम थाल्न सकिन्छ,” मलंगवाका एक किसानले भने। उनि जस्तै धेरै किसान अहिले हर्षित भएका छन्। सर्लाहीको कृषि उत्पादनमा मुख्य बालीका रुपमा धानलाई मानिन्छ। यद्यपि पर्याप्त वर्षा नहुदा धान रोपाइँ प्रभावित हुँदै आएको थियो।

यस वर्ष असारदेखि साउन दोश्रो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा जिल्लाका अधिकांश खेत बाँझै छन्। आकाशे वर्षामा निर्भर जिल्लाको खेती प्रणाली भएका कारण समयमै पानी नपर्दा किसान सधैं जसो चिन्तित हुने गरेका छन्। सर्लाहीमा वर्षाले किसानको मन हलुका बनाएको छ। यद्यपि यो एकदिनको पानी मात्र पर्याप्त हुने छैन। आगामी दिनमा समेत वर्षा निरन्तर भएमा मात्रै उत्पादनमा केहि सुधार आउने किसानहरुको अपेक्षा छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार