जनकपुर – बलात्कारको अभियोगमा दोषी ठहर गरिएका भारतका जनता दल (धर्मनिरपेक्ष) का नेता तथा पूर्व सांसद प्रज्वल रेवन्नालाई कर्नाटकको विशेष अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीश सन्तोष गजानन भट्टले शनिबार फैसला सुनाउँदै रेवन्नालाई आजीवन कारावासको सजाय सुनाएका हुन्। साथै, अदालतले उनलाई १० लाख भारतीय रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। तीमध्ये ७ लाख रुपैयाँ पीडित महिलालाई क्षतिपूर्ति स्वरूप उपलब्ध गराइनेछ।

पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाति समेत रहेका रेवन्ना विरुद्ध चार वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। हालको मुद्दा हसन जिल्लास्थित उनको फार्महाउसमा घरेलु कामदारको रूपमा कार्यरत ४८ वर्षीया महिलासँग सम्बन्धित हो। रेवन्नामाथि सन् २०२१ मा ती महिलामाथि दुई पटक बलात्कार गरेको आरोप थियो, एकपटक हसनस्थित फार्महाउसमा र अर्को पटक बेंगलुरुस्थित घरमा।
अदालतमा पेस गरिएका प्रमाणहरू अनुसार, रेवन्नाले ती घटनाहरू आफ्नै मोबाइलमा रेकर्ड समेत गरेका थिए र उक्त भिडियो सार्वजनिक गर्ने धम्कीसमेत दिएका थिए। अभियोजन पक्षले मुद्दा प्रमाणित गर्न २६ जना साक्षीको बयान लिएको थियो र १८० भन्दा बढी कागजातहरू पेस गरेको थियो। यस्तै, विशेष अनुसन्धान टोली (SIT) ले ११३ साक्षीको बयानसहित १,६३२ पृष्ठको विस्तृत आरोपपत्र सेप्टेम्बर २०२४ मा अदालतमा बुझाएको थियो।
रेवन्नासम्बन्धी अश्लील भिडियोहरू लोकसभा चुनावअघि अप्रिल २०२४ मा सार्वजनिक भएपछि यी मुद्दा झनै चासोको केन्द्र बनेका थिए। त्यतिबेला उनी जर्मनी भागेका थिए तर मे ३१, २०२४ मा भारत फर्कने क्रममा एयरपोर्टबाट पक्राउ परेका थिए। रेवन्नाले अदालतमा दोष अस्वीकार गर्दै सजाय घटाउन अपील गरेका थिए, तर अदालतले उनको माग अस्वीकार गर्दै कडा सजाय सुनाएको हो।





