भारत–नेपाल साझेदारीमा पोषणयुक्त चामल वितरण प्रणाली सुधार परियोजना प्रारम्भ

२०८२ श्रावण १८, आईतवार ०९:०४

सर्लाही – नेपालमा पोषणस्तर अभिवृद्धि गरिएको चामल वितरण तथा आपूर्ति श्रृंखला व्यवस्थापन सुधार गर्न भारतले नयाँ परियोजना सुरु गरेको छ। विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा अगाडि बढाइएको यो परियोजना नेपालस्थित भारतीय दूतावासमार्फत सार्वजनिक गरिएको हो।

दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, यो परियोजना भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलअन्तर्गत पर्छ र नेपालको सार्वजनिक खाद्य आपूर्ति प्रणालीलाई दक्ष, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्य लिएको छ। परियोजनाले विशेषगरी खरिद प्रक्रिया, तथ्यांक संकलन र दक्ष जनशक्ति अभावजस्ता मुख्य चुनौतीलाई सम्बोधन गर्नेछ। साथै, डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत आपूर्ति श्रृंखलामा गुणात्मक सुधार ल्याउने लक्ष्य छ।

परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा आवश्यकता मूल्याङ्कन र सरोकारवालासँगको समन्वयमा केन्द्रित काम हुनेछ। दोस्रो चरणमा नमुना कार्यान्वयनसहित नेपाली अधिकारीहरूको अध्ययन भ्रमण तथा विशेषज्ञहरूसँगको अन्तरक्रिया समावेश गरिनेछ। अन्तिम चरणमा प्राप्त अनुभवका आधारमा दीर्घकालीन कार्य योजना निर्माण गरिनेछ।

यस परियोजनाको प्रशिक्षण पक्ष भारत सरकारको ‘आइटेक’ (ITEC) कार्यक्रमअन्तर्गत सञ्चालन गरिनेछ, जसअन्तर्गत सन् २००१ यता ३ हजारभन्दा बढी नेपाली अधिकारीले भारतमा तालिम प्राप्त गरिसकेका छन्।

भारतीय दूतावासले यो परियोजनालाई नेपाल–भारतबीचको बलियो विकास साझेदारीको प्रतीकको रूपमा व्याख्या गर्दै दक्षिण–दक्षिण सहयोगमार्फत खाद्य प्रणालीमा नवप्रवर्तन आदानप्रदान र सुधारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार