नेपालमा सम्बन्ध विच्छेदको रेकर्ड ब्रेक: एकै वर्षमा साढे २४ हजार बढी डिभोर्स

२०८२ श्रावण १८, आईतवार १९:३५

सर्लाही – नेपालमा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेद (डिभोर्स)का घटना तीव्र गतिमा बढिरहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा मात्रै २४ हजार ५२२ सम्बन्धविच्छेद अनलाइनमार्फत दर्ता भएका छन्, जुन अहिलेसम्मकै उच्च संख्या हो। तीन महिनाको छोटो अवधिमा—वैशाखदेखि असारसम्ममा मात्रै ६ हजार ४९५ डिभोर्स दर्ता हुनुले पनि यो दर झनै चित्ताकर्षक देखिन्छ। अघिल्लो वर्ष २३ हजार ३५५ सम्बन्धविच्छेदका घटना भएका थिए भने २०७९/८० देखि नै हरेक वर्ष २० हजारभन्दा बढी डिभोर्स दर्ता हुने क्रम जारी छ।

सम्बन्धविच्छेदको इतिहास हेर्दा सन् २०४१ सम्म नेपालमा यस्ता घटना कानुनी रूपमा दर्ता गरिएको थिएन। पहिलोपटक २०४२ सालमा जम्मा २१ वटा डिभोर्स दर्ता भएका थिए भने १४ हजारभन्दा बढी विवाह दर्ता भएको देखिन्छ। त्यसयता क्रमशः वृद्धि हुँदै गएकाले २०६० मा ९७, २०७० मा ३९७, र २०८० मा २३ हजार ७१८ डिभोर्स भएका थिए। पछिल्ला ४० वर्षमा जम्मा एक लाख १० हजारभन्दा बढी सम्बन्धविच्छेद भएको तथ्यांकले देखाउँछ, जसमा करिब ९५ प्रतिशतभन्दा बढी घटनाहरू पछिल्ला ११ वर्षमै दर्ता भएका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रकाशित गरेको विश्लेषणात्मक प्रतिवेदनअनुसार सम्बन्धविच्छेद सबैभन्दा धेरै वाग्मती प्रदेशमा भएको पाइन्छ, विशेषतः काठमाडौंमा। त्यस्तै सबैभन्दा कम घटना मधेस प्रदेशमा दर्ता भएका छन्। उमेर अनुसार विश्लेषण गर्दा, पुरुषतर्फ ३०–३४ वर्षका २६.२ प्रतिशतले सम्बन्धविच्छेद गरेका छन्, त्यसपछि ३५–३९ वर्षका २१.८ प्रतिशत र २५–२९ वर्षका २० प्रतिशत रहेका छन्। महिलातर्फ २५–२९ वर्ष समूहका २९.७ प्रतिशतले सम्बन्धविच्छेद गरेका छन् भने त्यसपछि ३०–३४ वर्षका २३.२ र २०–२४ वर्ष समूहका १७.६ प्रतिशत रहेका छन्।

सम्बन्धविच्छेद गर्ने जोडीमध्ये ३५.१ प्रतिशतसँग बच्चा थिएन भने ३७.६ प्रतिशतसँग एक बच्चा, २१.१ प्रतिशतसँग दुई र ०.४ प्रतिशतसँग पाँच वा सोभन्दा बढी सन्तान रहेका थिए। सुदूरपश्चिम प्रदेशमा २५–२९ वर्ष उमेरका पुरुषहरूबाट सम्बन्धविच्छेद धेरै भएको पाइन्छ भने कर्णालीमा २५ वर्षभन्दा मुनिका ११.५ प्रतिशत पुरुषले डिभोर्स गरेका छन्। त्यस्तै १९ वर्षभन्दा कम उमेरमा डिभोर्स गर्ने ३४१ महिला र ५० जना पुरुष रहेका छन् भने ५० वर्षभन्दा माथिको समूहमा ९८८ महिला र २ हजार ४२८ पुरुषले डिभोर्स गरेका छन्।

सम्बन्धविच्छेद गर्ने अधिकांश नेपाली नागरिक भए पनि केही विदेशी नागरिकले पनि नेपालमा डिभोर्स दर्ता गराएका छन्। ३७ हजारभन्दा बढी पुरुषमध्ये ३६ जना विदेशी थिए, जसमा १५ भारतीय, ३ अमेरिकी, ३ अस्ट्रेलियनसहित अन्य देशका थिए। महिलातर्फ १२६ जना विदेशीले डिभोर्स दर्ता गराएका छन्, जसमा ५७ जना भारतीय, १४ अमेरिकी, ७ भुटानी र ७ जना फिलिपिनी नागरिक थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार