मलंगवा – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले आफू राजनीतिक षड्यन्त्रको शिकार बनेको गुनासो गरेका छन्। उनले सर्लाहीका प्रहरी प्रमुखसँगको भनाभनलाई आधार बनाएर आफूविरुद्ध झूठो मुद्दा लगाइएको दाबी गरेका छन्।
आइतबार सर्लाहीको कविलासी नगरपालिका–६ स्थित आफ्नै निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यादवले भने, “मैले राज्यसंस्था र सरकारी कार्यालयमा भइरहेको भ्रष्टाचार र अनियमितता उजागर गर्दा उल्टै मलाई अपराधी देखाउने प्रयास भएको छ।”

सर्लाही जिल्ला अदालतमा यादवविरुद्ध आपराधिक उपद्रव अन्तर्गत मुद्दा दायर गरिएको छ। प्रहरीका अनुसार उनले जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका थिए। यसै मुद्दाको आधारमा अहिले यादव प्रहरीको फरार सूचीमा परेका छन्।
यादवको समर्थनमा जसपा सर्लाहीले पनि संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले साउन २० गते विरोध र्याली, २१ गते मसाल जुलुस र २२ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ। पार्टीले यसघि पनि जिल्लामा बिभिन्न बिरोध प्रदर्शनहरु, मसाल जुलुसहरु निकालिसकेको छ।





