जनकपुर – भारतको झारखण्ड राज्यका पूर्व मुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका संस्थापक नेता शिबु सोरेनको निधन भएको छ। उनी ८१ वर्षका थिए। शिबु सोरेनका छोरा एवं हालका मुख्यमन्त्री हेमन्त सोरेनले आफ्ना पिताको निधनको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “आदरणीय दिशाम गुरुजीले हामीलाई सदाका लागि छाडेर जानुभयो। आज म शून्य भएको महसुस गर्दैछु…” स्वास्थ्य अवस्था बिग्रिएपछि शिबु सोरेन लामो समयदेखि अस्पतालमा उपचाररत थिए। जीवनभर आदिवासी समुदायको हकअधिकारका लागि संघर्षरत रहेकाले उनी ‘दिशम गुरु’ का नामले पनि परिचित थिए।

शिबु सोरेन झारखण्ड मुक्ति मोर्चाका संस्थापक संरक्षक हुन्। सन् २००६ मा भारतको कोइला मन्त्रीका रूपमा उनले केन्द्र सरकारमा भूमिका निर्वाह गरेका थिए। त्यसपछि सन् २००८ देखि २०१० सम्म झारखण्ड राज्यको मुख्यमन्त्री पदमा रहे। उनको निधनले भारतीय राजनीतिको एउटा युग अन्त्य भएको भन्दै श्रद्धाञ्जलीको ओइरोलो आएको छ।





