माओवादी नेता शिवकुमार साह तेली बैंकिङ ठगी आरोपमा पक्राउ

२०८२ श्रावण १९, सोमबार ११:४६
साङ्केतिक तस्बिर

सर्लाही – पर्सा जिल्लाका माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ कसूरको अभियोगमा पक्राउ परेका छन्। सखुवा प्रसौनी गाउँपालिका–६, लखनपुर निवासी तेलीलाई वीरगन्जस्थित श्रीपुरबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार क्रान्ति गुप्ता र अर्का एक व्यक्तिले दिएको जाहेरीका आधारमा तेलीलाई पक्राउ गरिएको हो। उजुरीकर्ताहरूका अनुसार तेलीले आफ्नो बैंक खातामा पर्याप्त रकम नहुनुका बाबजुद १० लाख र ६ लाख रुपैयाँका दुई चेक दिएका थिए। ती दुवै चेक बैंकबाट बाउन्स भएपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए।

तेलीलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थुनामा राखेर थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। २०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाल सुशासन पार्टीको तर्फबाट पर्सा–३ (क) बाट उम्मेदवारी दिएका तेली पराजित भएपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। त्यसअघि उनी जनता समाजवादी पार्टी नेपालमा आवद्ध थिए।

तेली यसअघि पनि विवादमा मुछिएका थिए। उनले अध्यक्षता गरेको जय महावीर कृषि सहकारी संस्था लिमिटेडमार्फत प्रदेश सरकारबाट प्राप्त करोडौं रुपैयाँको कृषि उपकरण खरिद योजनामा अनियमितता गरेको आरोप लागेको थियो। कागजी प्रक्रियामार्फत योजना सम्पन्न देखाएर बजेट दुरुपयोग गरेको भन्दै उनीमाथि छानबिनको माग उठेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार