सर्लाही – रौतहटको ईशनाथ नगरपालिका – ८, मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ५५ वर्षीय शेख जाफिर रहेका छन्। आफ्नै खेतमा सिँचाइका लागि मोटर चलाउँदै गरेका जाफिर करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि लगिएकमा उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार आइतबार राति साढे ९ बजेतिर जाफिर खेतमा जडान गरिएको विद्युतीय मोटर सञ्चालन गर्दै गर्दा खुला तारमा छोइएर गम्भीर घाइते भएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्कालै गौरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, राति पौने ११ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

घटना भएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ। घटना स्थल प्रहरी चौकीदेखि झन्डै २ किलोमिटर दक्षिणमा पर्छ। मृतकको शव हाल पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।





