सर्लाही – उच्च अदालत पाटनले व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको पूरानो आदेश उल्ट्याउँदै नयाँ निर्णय सुनाएको हो।
तीनकुने घटनासँग सम्बन्धित मुद्दामा प्रसाईँलाई अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा भने अदालतले २५ लाख रुपैयाँ धरौटी तोकेको छ। सो मुद्दामा प्रसाईँमाथि १८ करोड ४४ लाख रुपैयाँ बराबरको आर्थिक क्षतिको आरोप छ।

तीनकुने घटनाका अन्य आरोपीहरूमा सुशील बराल र तारा राजावादी (सरोज गौतम)लाई ५०-५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ। त्यस्तै, अभियुक्त डण्डपाणि रेग्मीका लागि अदालतले १० हजार रुपैयाँ धरौटी तोकेको उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।





