मलंगवा — लगातार तीन दिनदेखि सर्लाहीमा जारी झरीले जिल्लाको जनजीवनमा प्रभाव पारेको छ। शनिबार रातिबाट सुरु भएको लगातार वर्षाले जिल्लाभर पानीको मात्रा अत्यधिक बढेको छ। विशेषगरी रातको समयमा पानी अझै झन् बढी पर्ने गरेको छ।
लामो खडेरीपछि खेत सुक्खा भएर चिन्तामा रहेका किसानहरूका अनुहारमा अहिले भने खुशी छाएको छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार, “७० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको छ। बाँकी खेतमा पनि वर्षाको कारण रोपाइँ तीव्र गतिमा भइरहेको छ।”

यता, लगातारको वर्षाले सहर र गाउँका कच्ची सडकहरू जलमग्न बनेका छन्। ग्रामीण क्षेत्रका सडकहरू हिलो र पानीले भरिएर आवागमनमा समस्या उत्पन्न भएको छ। चुरे क्षेत्रमा खोलाको बाटो भएर ओहोरदोहोर गर्नुपर्ने स्थानहरूमा भने यातायात ठप्प भएको स्थानीयले जनाएका छन्।
यद्यपि, प्रहरीका अनुसार अहिलेसम्म कुनै ठूलो क्षति नभएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले कुनै ठाउँबाट क्षतिको सूचना नआएको बताए। लगातारको वर्षाले बस्ती जलमग्न भए पनि, बाढी वा डुबानको ठूलो जोखिम हालसम्म देखिएको छैन।





