सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

२०८२ श्रावण २१, बुधबार ०७:२७

सर्लाही – सप्तरीको राजगड गाउँपालिका–२ स्थित कमलपुरमा गएराति प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय लालु यादव रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतसँगको सीमाक्षेत्र नजिकै ठूलो परिमाणमा अवैध मदिरा भण्डारण गरिएको भन्ने सूचनाका आधारमा प्रहरीले विशेष सर्च अपरेसन थालेको थियो। सो क्रममा सुरक्षाकर्मी र स्थानीय तस्कर समूहबीच झडप भएको हो।

तस्कर समूहले प्रहरीमाथि एक्कासि ढुंगामुढा प्रहार गर्न थालेपछि आत्मरक्षार्थ प्रहरीले सात राउन्ड गोली चलाउन बाध्य भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीको भनाइ छ। यही भीडन्तमा गोली लागेर गम्भीर घाइते भएका यादवको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

घटनास्थलबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ। सो क्षेत्रमा लामो समयदेखि मदिरा तस्करी सक्रिय रहेको भन्दै प्रहरीले निगरानी बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार