अब अनलाइन मिडिया दर्ता र नवीकरण जिल्ला प्रशासनबाटै हुने

२०८२ श्रावण २१, बुधबार ०८:५४

सर्लाही – अब अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि सूचना तथा प्रसारण विभाग धाउने झन्झट हट्ने भएको छ। विभागले अबदेखि अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया स्थगित गर्दै उक्त कार्य जिल्ला प्रशासन कार्यालयमार्फत हुने जानकारी दिएको छ।

मंगलबार एक सूचना जारी गर्दै विभागले हालसम्म विभागबाट हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता र नवीकरण प्रक्रिया रोकिएको जनाएको हो। विभागका अनुसार अब ‘छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८’ मा गरिएको संशोधनको नयाँ व्यवस्था अनुसार प्रक्रिया अघि बढाइनेछ।

नयाँ कानुनी प्रावधानअनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले अब तोकिएको दस्तुरसहित स्थानीय अधिकारी अर्थात् सम्बन्धित जिल्ला प्रशासन कार्यालय समक्ष निवेदन दिनुपर्नेछ।

सूचनामा भनिएको छ, “राजपत्रमा प्रकाशित सूचना र कानुनी संशोधनलाई आधार मानेर विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको दर्ता तथा नवीकरण प्रक्रिया हाललाई स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ।”

यसरी, अबदेखि अनलाइन मिडिया दर्ता र नवीकरणको सम्पूर्ण प्रक्रिया सम्बन्धित जिल्लामै सीमित हुने व्यवस्था लागू भएको छ। यस कदमले अनलाइन मिडियाको पहुँच र दर्ता प्रक्रिया अझ सहज बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार