सर्लाही – सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ परेका छन्। जिल्लाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा नियमित सुरक्षा जाँचका क्रममा नेपाली प्रहरीले पेस्तोलसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको बेलही पञ्चायत–३ का ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाश कुमार मण्डल रहेका छन्। ती सबै जना एकै मोटरसाइकलमा सवार थिए।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश राज पुरीको नेतृत्वमा खटिएको टोलीले शंका लागेपछि मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइएको अवस्थामा नलकटुवा पेस्तोल फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार पक्राउ परेका तीनै जनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी आज जिल्ला अदालत सिरहामा पेश गरिने र म्याद थपको प्रक्रिया अघि बढाइने जनाइएको छ।





