बागमतीका निलम्बित मेयर थापासहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक वर्ष कैद र करोडौं जरिवाना

२०८२ श्रावण २१, बुधबार २०:३७

मलंगवा – सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापासहित तीन जनालाई विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। अदालतले भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा थापालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको हो।

बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले मेयर थापासहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना प्रमुख इन्जिनियर सागर पौडेललाई दोषी ठहर गरेको हो। उनीहरूको सजाय यही साउन २९ गते सुनाइनेछ। भ्रष्टाचारसम्बन्धी प्रचलित कानुनअनुसार उक्त कसुरमा ८ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

२०७९ सालको आर्थिक वर्षदेखि नगरपालिकामा भइरहेका विकास आयोजनामा व्यापक अनियमितता भएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ २९ गते थापा, उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। आयोगले ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो माग गर्दै मुद्दा चलाएको थियो।

नदीजन्य स्रोतको दोहन तथा त्यसबाट राज्यलाई भएको हानिनोक्सानीसम्बन्धी अभियोगमा दायर उक्त मुद्दामा अदालतले थापा, पोखरेल र पौडेललाई दोषी ठहर गरे पनि उपमेयर मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई सफाइ दिएको छ।

यता, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी छुट्टै मुद्दामा पनि मेयर थापा दोषी ठहरिएका छन्। अदालतको ठहरअनुसार थापाले ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ २३ पैसा स्रोत खुलाउन नसक्ने गरी आर्जन गरेका थिए। त्यसअनुसार उनलाई एक वर्ष कैद र सोही रकम बराबरको जरिवाना तोकिएको छ।

अदालतका अनुसार थापाको नाममा देखिएको सम्पत्ति आय स्रोतअनुसार मिल्दो नपरेको पाइएपछि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोग पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार