मलंगवा – सर्लाहीको बलरा नगरपालिका – १ स्थित जब्दी टोलमा गएराति रक्सी खाने बिषयलाई लिएर दुई समूहबीच विवाद भएको खुलेको छ। बिबादले हिंसात्मक रुप लिँदा छुरा प्रहारमा परेर तीन जना घाइते भएका छन्।
बुधबार राति करिब ९ बजे भएको घटनामा बलरा–१ का २५ वर्षीय धर्मवीर सहनी घाइते भएका छन्। उनको पेटमा छुरा प्रहार भएको छ। अन्य १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल सामान्य घाइते भएका छन्। दशरथको घाँटीमा चोट लागेको छ भने अमितको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार छुरा प्रहार गर्ने व्यक्तिहरू भारत निवासी अमन सिंह, विकास सिंह, अटल राय र अविनेश सिंह रहेका छन्। घटना पश्चात् उनीहरू फरार छन्। घटनाको खबर पाउनासाथ इलाका प्रहरी चौकी छन्कीटोलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
राति नै घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। हाल घाइते तीनै जना उपचारपछि घर फर्किएका छन् र उनीहरूको अवस्था सामान्य रहेको छ।
फरार रहेका अभियुक्तहरूको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए।
सम्बन्धित खबर:
– बलरामा दुई समूहबीच झडप





