पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै लाखौँ ठगि गर्ने बाराका एकसहित दुई जना पक्राउ

२०८२ श्रावण २२, बिहीबार १५:२९

सर्लाही – आकर्षक तलबको प्रलोभन देखाउँदै पोर्चुगल र हंगेरीमा वैदेशिक रोजगारी दिलाइदिने बहानामा २१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बसोबास गर्दै आएका बारा, निजगढ नगरपालिका–१२ का ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ मा बस्दै आएका रामेछाप नगरपालिका–३ घर भएका ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन्।

राम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट २९ लाख रुपैयाँ असुलेको आरोप छ भने चन्द्र बहादुरले हंगेरी पठाउने भन्दै एक जनाबाट २ लाख ५० हजार रुपैयाँ लिएको र त्यसपछि दुवैजना सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार भक्तपुरको मध्यपुर थिमी क्षेत्रबाट पक्राउ गरेको हो।

हाल उनीहरूलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउनका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार