सर्लाहीमा स्कुल बसको ढोकाबाट लडेर एक बालकको मृत्यु

२०८२ श्रावण २२, बिहीबार २१:४३

सर्लाही – सर्लाहीमा स्कुल बसको ढोकाबाट लडेर एक बालकको मृत्यु भएको छ। आज साँझ साँढे ४ बजे जिल्लाको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट लडेर एक बालकको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको कायाकल्प एकेडेमीको ग. १ ख ९५६८ नम्बरको बसबाट खसेर सोहि स्कुलमा कक्षा ३ मा अध्यनरत धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेखको मृत्यु भएको हो।

उनी स्कुल बसको ढोकामा उभिएका बेला अचानक लडेर घाइते भएका थिए। घटनापछि उनलाई तत्काल बरहथवास्थित संकटमोचन अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो। तर, चिकित्सकले साँझ ७ बजे फैजानलाई मृत घोषणा गरेका थिए।

घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक निरन्जन भट्टराईको कमान्डमा खटिएको टोलीले बस र बस चालक जिल्लाको बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार