सर्लाही – सप्तरी जिल्लामा फेरी ठूलो मात्रामा गाँजा बरामद भएको छ। शुक्रबार बिहान सबेरै जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलमा गस्तीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले करिब चार क्विन्टल गाँजा बरामद गरेको हो।
नहरको छेउमा बेवारिसे अवस्थामा लुकाइ राखिएका १७ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। बरामद गाँजाको तौल ३९६.९ किलो रहेको उनले बताए। प्रारम्भिक अनुसन्धान अनुसार उक्त गाँजा भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको थियो।

यसअघि पनि साउन ४ गते राजगढ गाउँपालिका–३ नर्घो पछ्वारी टोलमा बसोबास गर्ने ४० वर्षीया रेखाकुमारी मण्डलको घरबाट ३८८.७३ किलो गाँजा प्रहरीले बरामद गरेको थियो। त्यतिबेला गाँजा निर्माणाधीन शौचालय र बाँसघारीमा लुकाइएको अवस्थामा फेला परेको थियो।





