सर्लाही – सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार साहले वडा नम्बर ६ मा नाला निर्माण योजना सम्पन्न भइसकेपछि भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए। सोही रकमसहित उनलाई रंगेहात पक्राउ गरिएको थियो।

मुद्दामा एक लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ख) अनुसार कैद सजाय र सोही ऐनको प्रावधानअनुसार बिगो बराबरको जरिवाना माग गरिएको अख्तियारले जनाएको छ। आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।





