राजनीतिक नेतृत्वले सचिवहरुलाई पंगु बनायो : सांसद सिंह

२०८२ श्रावण २३, शुक्रबार १४:५३
file image

सर्लाही – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक नेतृत्वकै कारण मुलुकको कर्मचारीतन्त्र कमजोर र निष्क्रिय बन्दै गएको आरोप लगाएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले मन्त्रीको निर्देशन मात्र पालना गर्ने प्रवृत्तिले सचिवहरूको कार्यक्षमता घटेको बताए।

“आज सचिवहरू मन्त्रीको आदेशबाहेक अरु कुनै पहल गर्न सक्दैनन्, मन्त्रीको निवासमा धाउने प्रवृत्ति सामान्य भएको छ,” सिंहले टिप्पणी गरे। उनले सचिवहरूलाई आत्मसम्मान कायम राख्न आग्रह गर्दै भने, “मन्त्रीहरूको गोटी नबनिनुस्। भ्रष्टाचारका मामिलामा साना कर्मचारी मात्र फसाइन्छन् तर व्यवस्था र देश बचाउने जिम्मा तपाईंहरूको काँधमै छ।”

सिंहका अनुसार मुलुकमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीचको मिलेमत्तोले भ्रष्टाचार चुलिएको छ। यसै कारण हरेक वर्ष बेरुजु रकम बढ्दै गएको उनको भनाइ छ। “नेपालमा अहिले जस्तो लुटपाट संसारको अर्को कुनामा छैन,” उनले दाबी गरे।

उनले प्रदेश तहलाई भ्रष्टाचारको केन्द्रको रूपमा चित्रित गर्दै साधारण खर्चको हिसाबमा नेपाल एशियामै अग्रपंक्तिमा पुगेको बताए। “जति बेथिति र भ्रष्टाचार बढ्छ, त्यति नै देश छाड्नेहरूको सङ्ख्या बढ्छ,” सिंहको चेतावनी थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार