संघीयतापछि मधेशको ग्रामीण विकासमा तीव्रता आएको मुख्यमन्त्री सिंहको दाबी

२०८२ श्रावण २३, शुक्रबार १९:५१
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय शासन प्रणाली लागू भएपछि मात्र मधेशका गाउँ–गाउँमा विकासले उल्लेखनीय गति लिएको बताएका छन्। शुक्रबार सप्तरीको बोदे बरसाइन नगरपालिका र बलान बिहुल गाउँपालिकालाई जोड्ने बिहुल नदीमाथि निर्माण गरिएको पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

मुख्यमन्त्री सिंहका अनुसार संघीयता लागू भएपछिका सात वर्षभित्र सडक सञ्जाल विस्तारदेखि पुल निर्माणसम्मका पूर्वाधार विकासका काम तीव्र गतिमा भएका छन्। उनले भने, “पहिलेका वर्षमा यहाँका बस्तीमा मोटर चल्ने अवस्था नै थिएन, अहिले भने सडक र पुलहरू गाउँगाउँसम्म पुगेका छन्।”

तर, सिंहले अझै पनि मधेशमा अपेक्षित स्तरको विकास हुन नसकेको उल्लेख गर्दै संघीय सरकारको दृष्टिकोणप्रति असन्तुष्टि जनाए। “संघीय सरकारले आवश्यकताको आधारमा बजेट नदिने भएकाले योजना कार्यान्वयनमा बाधा आइरहेको छ,” उनले भने।

बोदे बरसाइन–८ बैरयाही र बलान बिहुल–५ रामनगरलाई जोड्ने ५० मिटर लामो पुल पूर्वाधार विकास कार्यालय, राजविराजमार्फत निर्माण गरिएको हो। ११ करोड रुपैयाँ लागतको यस परियोजनाले दुबै क्षेत्रका बासिन्दालाई यातायातमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार