सर्लाहीमा यात्रुबाहक बस पल्टियो, १७ जना यात्रु घाइते

२०८२ श्रावण २३, शुक्रबार २०:३१

गोडैता – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५ स्थित बाँके जंगलमा शुक्रबार साँझ यात्रुबाहक बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्। जनकपुरबाट मलङ्गवातर्फ गइरहेको ग १ ख ९४९४ नम्बरको बस बाँके जंगलको भत्किएको लच्का नजिकै अनियन्त्रित भई सडकबाट पल्टिएको हो।

दुर्घटनापछि १६ जनाको उपचार लालबन्दीस्थित मोडेल अस्पतालमा र एक जनाको नवलपुरमा भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले जानकारी दिएका छन्।

उनका अनुसार साँझपख मुसलधारे वर्षाका कारण सडक चिप्लिएपछि बस नियन्त्रण गुमाएर पल्टिएको हो। दुर्घटनापछि राजमार्ग हुँदै गइरहेका अन्य सवारीका यात्रु र प्रहरीले तत्काल उद्धार कार्य गरेका थिए। बस सडकबाट एक बल्ड्याङ मात्र पल्टिएकाले ठूलो क्षति हुनबाट जोगिएको जोहारीले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार