सर्लाही — सर्लाहीको ईश्वपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गको दोस्रो लचक नजिक शुक्रबार साँझ यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
जनकपुरबाट मलंगवातर्फ गइरहेको ग १ ख ९४९४ नम्बरको बस साँझ करिब ५:४५ बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनास्थल फुलजोर प्रहरी चौकीबाट करिब ४–५ किलोमिटर पूर्वमा पर्छ। दुर्घटनामा परेर धनुषा, सर्लाही, महोत्तरी लगायत विभिन्न जिल्लाका यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

लालबन्दीस्थित मोडल अस्पतालमा धनुषा हंशपुरका २८ वर्षीय उदित साह, सर्लाही कबिलासीका ६८ वर्षीय राम पुकार मुखिया, दिनेश महतोकी २५ वर्षीया श्रीमती सुमित्रा देवी महतो, महोत्तरी बर्दिबासकी ३९ वर्षीया कमला कुमारी महतो र उनका १४ वर्षीय छोरा आशिष कुमार महतो, धनुषाका २७ वर्षीया चन्दा देवी साह, सर्लाही मलंगवाकी ४५ वर्षीया जतारन महतो, ६५ वर्षीया सखिया महतो, धनुषाका ३८ वर्षीय हरी शंकर साह, सर्लाही लालबन्दीकी २४ वर्षीया रेनुका गौतम, कबिलासीकी २३ वर्षीया मुनिका कुमारी शर्मा, २४ वर्षीय धिरज कुमार ठाकुर, सर्लाही हरीपुरकी ३० वर्षीया बिर्जना सिंह, धनुषाकी ३५ वर्षीया मन्जु कुमारी महतो, उनका १० वर्षीय छोरा आशिष कुमार महतो र ५ वर्षीय छोरा शुसन कुमार महतो उपचाररत छन्।
त्यस्तै, सर्लाही हरीपुर–९ की ४५ वर्षीया रीता चौधरीको सर्लाही नवलपुरस्थित लाइफलाइन हेल्थ केयरमा, महोत्तरी बर्दिबास–१ की ४ वर्षीया श्रीषा पोख्रेलको शुभस्वस्तिक अस्पताल बर्दिबासमा, र बसका सहचालक धनुषा धनुषाधाम–८ का ४० वर्षीय बिजय यादवको धनुषाको गोदारस्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ।
सबै घाइतेको अवस्था सामान्य भए पनि केहीको शरीरमा भित्री चोट रहेको चिकित्सकहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार चालकको लापरबाही वा सवारीको गति नियन्त्रण नहुनु दुर्घटनाको कारण हुनसक्ने अनुमान गरिएको छ। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





