जनकपुर – नयाँ दिल्लीको दक्षिणपूर्वी क्षेत्र जैतपुरमा शनिबार बिहान भीषण वर्षासँगै भएको दुःखद दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
लगातारको वर्षापछि घरको पर्खाल अचानक भत्किँदा धेरै जना भग्नावशेषमा पुरिएका थिए। घटनापछि स्थानीय बासिन्दा र उद्धार टोलीले तुरुन्तै राहत कार्य सुरु गरेको बताईएको छ ।

घाइते ८ जनामध्ये ५ जनालाई सफदरजंग अस्पताल लगिएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो। त्यस्तै, ३ जनालाई एम्स ट्रमा सेन्टर पुर्याइएकोमा उनीहरुको पनि त्यहाँ मृत्यु भएको हो। बाँकी एक जना घाइते हाशिबुलको उपचार हाल सफदरजंग अस्पतालमा भइरहेको छ ।
मृतकमध्ये ३ पुरुष, २ महिला र २ बालिका रहेका छन्। भारतीय संचार माध्यमका अनुसार मृत्यु हुनेमा ३० वर्षीय शबीबुल, ३० वर्षीय रबीबुल र ४५ वर्षीय मुत्तु अली, २५ वर्षीया रुबीना, २५ वर्षीया डलीको मृत्यु भएको छ । त्यस्तै, ६ वर्षीया रुखसाना र ७ वर्षीया हसीना नामकी दुई बालिकाको मृत्यु भएको छ।





