सर्लाही – काठमाडौँमा लुकेर बस्दै आएका भारतका ‘मोस्ट वान्टेड’ अपराधीमध्ये एक, दाउद इब्राहिमका सहयोगी शेख सलीम उर्फ सलीम पिस्टललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पाँच दिनअघि गरिएको यो पक्राउबारे स्रोतले जानकारी दिएको हो।
भारतमा आपराधिक गिरोहलाई हतियार आपूर्ति गर्ने आरोपमा चिनिएका सलीमको पहिचान भारतीय प्रहरीको सूचनामार्फत पत्ता लागेको बताइन्छ। त्यसकै आधारमा नेपाल प्रहरीले निगरानी गर्दै उनलाई नियन्त्रणमा लिएको हो।

कारबाहीपछि नेपाल प्रहरीले उनलाई औपचारिक प्रक्रिया पूरा गरी भारतीय प्रहरीसमक्ष बुझाएको जनाइएको छ। स्रोतका अनुसार नेपाल–भारतबीच यस्ता अपराधविरुद्ध बेलाबेलामा समन्वित कारबाही हुने गरेको छ।
भारतीय मिडियाले पनि सलीमको नेपालमा भएको गिरफ्तारी र भारतमा प्रत्यक्ष बुझाइएको समाचार प्रकाशित गरेका छन्। उनका विरुद्ध भारतमा विभिन्न गम्भीर आपराधिक मुद्दा दर्ता छन्।





