मलंगवा – सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला कारागार हाल क्षमता भन्दा निकै बढी कैदीबन्दीले भरिएको छ, जसका कारण व्यवस्थापनमा ठूलो चुनौती देखिएको छ। यो कारागारमा १६० पुरुष र ५० महिला कैदी राख्ने क्षमता छ।
तर अहिले ३३३ जना पुरुष र ३८ जना महिला कैदीबन्दी छन्, जसमा पाँच बालबालिका पनि छन्। पुरुष कैदी मात्रै क्षमता भन्दा १७७ जना बढी भएपछि बस्ने र सुत्ने ठाउँको तीव्र अभाव भएको निमित्त कारागार प्रमुख असरफ हुसेन गद्धीले जानकारी दिएका छन्।

अत्यधिक भीडका कारण कैदीहरूलाई बरन्डा, सिँढी र बाहिर पाल टाँगेर सुताउनुपरेको कारागार प्रशासनको भनाइ छ। “ठाउँ सानो भएकाले गर्मी अत्यधिक हुन्छ, कतिपटक बाहिरै पालमा रात बिताउनुपर्छ,” गद्धीले बताए।
मलंगवा कारागारमा सर्लाही मात्र नभई रौतहट, महोत्तरी, बारा, सिन्धुली, सिरहा, सप्तरीसहित २० भन्दा बढी जिल्लाका कैदीबन्दी राखिएका छन्। कैदी प्रतिनिधि तथा चौकीदार मनोजकुमार चौधरीका अनुसार साँघुरो ठाउँका कारण बस्ने र हिँड्डुल गर्ने समस्या छ। “खेलकुद वा व्यायामको लागि छुट्टै ठाउँ छैन, यही नै ठूलो समस्या हो,” उनले भने।
हाल कारागारभित्र कैदीबन्दीहरूले गलैचा बुन्ने, सिलाइकटाइ तथा मुढा बनाउने जस्ता सीपमूलक काम गरिरहेका छन्। चौधरीका अनुसार कैलाली कारागारमा भएको जस्तो अप्रिय घटना यहाँ भने अहिलेसम्म भएको छैन।
सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिएका छन्।





