सर्लाही – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको संघीय संसद् बैठकमा सम्बोधन गर्दै उनले स्वेच्छाले पद त्यागको घोषणा गरेका हुन्।
संघीय निजामती विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको हस्तक्षेपको विषयमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो। तर, समितिको प्रतिवेदनमा आफूलाई कारबाही वा राजीनामाको सिफारिस नगरेको भए पनि नैतिक आधारमा पद खाली गर्न लागेको उनले स्पष्ट पारे।

उनले दिवंगत नेता कृष्णप्रसाद भट्टराईको भनाइ उद्धृत गर्दै भने, “नखाएको विष लाग्दैन।” खतिवडाले उक्त प्रावधानमा सर्वसम्मति कायम गर्न सक्दो प्रयास गरेको र त्यसमा छेडछाड भएपछि छानबिनको माग गर्ने पहिलो व्यक्ति आफू भएको दाबी गरे।
उनले यस घटनामा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको पुनः दोहोर्याए। राजीनामा घोषणा गर्नु अघि उनले समितिले आफ्नो कार्यकालमा गरेका उपलब्धिहरूको विवरण संसद्मा प्रस्तुत गरेका थिए।





