सर्लाही – आम जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद् प्रभु साहले देशभर मल अभावको गम्भीर परिस्थितिमा प्रधानमन्त्रीले ‘मलको अभाव छैन’ भनी बोलेको प्रति कडा आपत्ति जनाएका छन्।
मंगलबार संसद बैठकमा बोल्दै साहले भने, “धान रोप्ने बेला किसान मलको खोजीमा तड्पिरहेका छन्, तर प्रधानमन्त्रीले यस्तो बेला मल अभाव नभएको दाबी गर्नु किसानसँग धोका खेल्नु सरह हो।”

सरकारकै तथ्याङ्क अनुसार पनि मलको कमी स्पष्ट देखिएको छ भनी उनले जोड दिए। आफ्नो गृह जिल्ला रौतहटको उदाहरण दिँदै साहले बताए, “रौतहटमा ५२ हजार हेक्टर जमिनमा धान खेतीका लागि १३ हजार मेट्रिक टन युरिया आवश्यक पर्छ।
तर हालसम्म मात्र ३ हजार मेट्रिक टन मल उपलब्ध भएको छ। यस्तो अवस्थामा अभाव नभएको भन्नु उचित होइन।” देशैभर करिब २ लाख मेट्रिक टन मल आवश्यक परेको बेला प्रधानमन्त्रीले २९ हजार मात्र स्टकमा रहेको तथ्य स्विकार गर्नु सरकारले मल वितरणमा देखाएको कमजोरी हो।
साहले मल अभावकै कारण किसानहरू भारतबाट मल ल्याउन बाध्य भएको र सीमामा सुरक्षाकर्मीले त्यसलाई नियन्त्रण गर्न खोज्नुले सरकारको दोहोरो नीति देखाएको आरोप पनि लगाए। मुल्यवृद्धि, कालोबजारी र अनियमितता रोक्न सरकारले कुनै ठोस कदम नचालेको भन्दै उनले यस विषयमा सभामुखसँग ध्यानाकर्षण गराइ रुलिङ माग गरे।





