टप इन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल ४२ रनले पराजित

२०८२ श्रावण ३०, शुक्रबार १७:३७

सर्लाही – टप इन्ड टी–२० सिरिजको सुरुवाती भिडन्तमै नेपालले निराशाजनक परिणाम हात पारेको छ।

सिरिजको पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनको हार बेहोर्दै नेपालले प्रतियोगितामा अपाच्य सुरुवात गरेको हो। एनटी स्ट्राइकले जितका लागि दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र जोड्न सक्यो।

नेपालको ब्याटिङमा कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान दिए भने गुलशन झा २६ रनमा आउट भए। कप्तान रोहित पौडेलले २३, दिपेन्द्र सिंह ऐरीले १९, आसिफ सेखले ११ र कुशल भुर्तेलले ८ रन बनाए।

बलिङतर्फ एनटी स्ट्राइकका माट हामोन्डले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। त्यस्तै केन रिचार्डसन र टम एनड्रुजले समान २–२ विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको चुनौती पेश गरेको थियो।

टोलीका लागि डी आर्सी सर्टले ५१ रनको पारी खेले भने टम एनड्रुजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन जोडे।

नेपालका बलर सन्दीप लामिछाने ३ विकेटसहित सर्वाधिक सफल भए। शहाब आलमले २ विकेट लिए भने रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक–एक विकेट हात पारे। सिरिजमा अब नेपालले शनिबार बंगलादेश ‘ए’ विरुद्ध दोस्रो खेल खेल्ने तालिका छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार