सर्लाही – रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनलाई लिएर शनिबार विवाद चर्किँदा झडप भएको छ। उक्त झडपमा मेयरसहित पाँच जना घाइते भएका छन्।
मेलाको उद्घाटन कार्यक्रममा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह मठ परिसर पुगेका थिए। तर स्थानीय रामविनोद साह पक्षले उद्घाटन रोक्नुपर्ने भन्दै विरोध गरेपछि विवाद उत्पन्न भएको हो। विरोधको क्रममा भनाभन बढ्दै गएपछि झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

झडपमा परि प्रहरी जवान जगदीश राय यादव, प्रहरी जवान धनसुन्दर ठाकुर , रामविकाश साह, श्याम विनय साह र नगरप्रमुख प्रेमलाल साह कानु घाईते भएका छन्। झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै प्रहरी घाईते भएका हुन्।
सबै घाइतेहरूको उपचार गरुडास्थित निजी अस्पतालमा भइरहेको छ। यसैबिच घटनामा संलग्न भएको आरोपमा स्थानीय राधामोहन साह, विनोद साह र ऋतिक साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडामा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





