सर्लाही – अविरल वर्षापछि आएको बाढी र पहिरोले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा ठूलो मानवीय क्षति भएको छ। बीबीसीका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ३०७ पुगेको छ भने घाइते र विस्थापितको यकिन तथ्यांक अझै आउन बाँकी छ।
सबैभन्दा बढी क्षति उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको अधिकारीहरूले जनाएका छन्। त्यहाँ कम्तीमा ७४ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। साथै उद्धारका क्रममा खटिएको एक एम–१७ हेलिकोप्टर दुर्घटनामा पर्दा चालक दलका पाँच सदस्यको मृत्यु भएको पुष्टि भएको छ।

पाकिस्तान–प्रशासित कश्मीरमा नौजनाको र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँचजनाको ज्यान गएको समाचार प्राप्त भएको छ। धेरै ठाउँलाई आपतकालीन क्षेत्र घोषणा गरिएको छ भने आगामी अगस्ट २१ सम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।
बुनरमा बाँच्न सफल एक स्थानीय बासिन्दा अजिजुल्लाहले समाचार एजेन्सी एएफपीसँग भयावह अनुभव सुनाउँदै भने, “मैले पहाड खसेजस्तो ठूलो आवाज सुनेँ। चारैतिर धर्ती काँपिरहेको थियो। मलाई लाग्यो, यो नै मेरो जीवनको अन्तिम क्षण हो।”
खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गडापुरले अफगान सीमा नजिकैको बाजौर क्षेत्रमा हेलिकोप्टर दुर्घटना प्रतिकूल मौसमकै कारण भएको जानकारी दिएका छन्।
यसैबीच, भारत–प्रशासित कश्मीरमा समेत शुक्रबार आएको बाढीले हिमालयन गाउँमा ठूलो क्षति पुर्याएको छ। त्यहाँ कम्तीमा ६० जनाको मृत्यु भएको र दर्जनौँ अझै बेपत्ता रहेको उद्धारकर्ताले जनाएका छन्।





