राष्ट्रिय मुक्ति पार्टीको कार्यकारिणी बैठक सुरु

२०८२ श्रावण ३१, शनिबार २०:४०
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो

सर्लाही – राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकको प्रारम्भमै अध्यक्ष राजेन्द्र महतोले ३० जना केन्द्रीय पदाधिकारी र ४ जना निकाय प्रमुखलाई आ–आफ्नो मातृभाषामा पद तथा गोपनियताको शपथग्रहण गराए।

शपथ समारोहमा नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बु, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधी, खस, उर्दु, राजवंशीलगायतका भाषा र सांस्कृतिक भेषभूषाको उपस्थिति देखियो।

बैठकमा हालको राजनीतिक परिदृश्य, विगतका निर्णयहरूको कार्यान्वयनको समीक्षा, संगठन विस्तार, जिम्मेवारी तोक्ने विषय, विचार मिल्ने दल वा संगठनहरूसँग कार्यगत एकता तथा मोर्चाबन्दी, पार्टी र बहुलराष्ट्रवादबीचको सम्बन्ध स्पष्ट पार्ने कार्यविधि, साथै प्रशिक्षक प्रशिक्षण कार्यक्रमसम्बन्धी एजेन्डा प्रस्तुत गरिएको पार्टी स्रोतले जनाएको छ।

पाँच दिनसम्म निरन्तर चल्ने बैठकमा यी विषयमा गहन छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार