जनकपुर – कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ जना नेपाली श्रमिकको मृत्यु भएको छ भने ४० जना बिरामी परेका छन्। मृतकको संख्या शनिबारसम्मकै तथ्याङ्क भएको कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिएका छन्।
उनका अनुसार अस्पतालमा भर्ना भएका बिरामीमध्ये केहीको अवस्था गम्भीर छ भने कतिपय सामान्य अवस्थामा उपचाररत छन्। कुवेतमा मदिरा सेवन गैरकानुनी भए पनि नेपाली श्रमिकहरूले साथीभाइको समूहबाट उक्त मदिरा प्राप्त गरी सेवन गरेको प्रारम्भिक जानकारी आएको दूतावासले जनाएको छ।

श्रम सहचारी आचार्यले भने, “यो निकै दुःखद घटना हो। सोधपुछ गर्दा साथीभाइको सर्कलमार्फत मदिरा पाएको भन्ने तथ्य आएको छ। दूतावासले यसबारे सचेतना अभियान पनि चलाइरहेको छ।”
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथानोल मिसाइएको मादक पदार्थ सेवनका कारण हालसम्म १६० आप्रवासी बिरामी भएका छन्। तीमध्ये २० जनाभन्दा बढी आप्रवासीको ज्यान गइसकेको छ।





