सर्लाही – नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार बिहान बालुवाटारमा भएको शिष्टाचार भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई भारत भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।

निमन्त्रणाप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय संवाद आवश्यक हुने बताएका छन्। औपचारिक मिति घोषणा भइसकेको छैन, तर भदौ ३१ र असोज १ गतेको लागि भारत भ्रमणको तयारी भइरहेको बताइएको छ।
नेपाल आगमनपछि मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।





