चार महिनामा विपद्जन्य घटनाबाट १ सय ३० जनाको मृत्यु, पाँच हजार बढी परिवार प्रभावित

२०८२ भाद्र १, आईतवार १९:३५

सर्लाही – गएको वैशाख १ देखि भदौ १ गतेसम्मको चार महिनामा मुलुकभर दुई हजार ८८१ विपद्‌जन्य घटना दर्ता भएका छन् । ती घटनामा परेर १ सय ३० जनाले ज्यान गुमाएका छन् भने २२ जना अझै बेपत्ता छन् । सो अवधिमा ५९७ जना घाइते भएका छन् भने पाँच हजार १४१ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतका अनुसार आगलागी, चट्याङ र बाढी–पहिरोले सर्वाधिक मानवीय क्षति पुर्‍याएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीका २२३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । पहिरोका ३१८ घटनामा १६ जनाको मृत्यु भएको छ भने भारी वर्षाका २८७ घटनामा चार जनाले ज्यान गुमाएका छन् । यस्तै, चट्याङका २४८ घटनामा २९ जनाको मृत्यु भएको छ ।

सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार १२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा आठ, जनावर आक्रमणका १७४ घटनामा १४ र लेक लागेर ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ ।

पछिल्ला २४ घण्टामा मात्र ४४ विपद्‌जन्य घटना भएका छन् । ती घटनामा तीन जनाको मृत्यु र १२ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार