कटहरिया नगरप्रमुखद्वारा जमुनिया विद्यालयको अनुगमन, अभिभावक र जनतासँग प्रत्यक्ष भेटघाट

२०८२ भाद्र १, आईतवार १९:५७

पवन कुमार उपाध्याय, रौतहट – यहाँको कटहरिया नगरपालिका प्रमुख अजय प्रकाश जैसवालले कटहरिया नगरपालिका – २, जमुनियास्थित श्री माध्यमिक विद्यालयको अनुगमन गरेका छन्। विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर, शिक्षकको उपस्थिति, विद्यार्थीको अनुशासन र भौतिक पूर्वाधारको अवस्था प्रत्यक्ष अवलोकन गरेका उनले तत्काल सुधारका लागि विद्यालय प्रशासनलाई केहि सुझाव दिएका छन्।

अनुगमनपछि आयोजित भेलामा नगर प्रमुखले अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै समस्या सुने। अभिभावकहरूले विद्यालयमा शैक्षिक सामग्रीको कमी, शिक्षक अभाव, विद्यार्थी उपस्थितिमा देखिएको कमजोरी र भवन मर्मतको माग राखे। यसैगरी, स्थानीय जनताले विद्यालयका समस्या मात्र नभई कृषि पोललाई सशक्त बनाउनुपर्ने, ग्रामीण सडक निर्माणलाई गति दिनुपर्ने, खानेपानी तथा विद्युत सेवामा सुधार ल्याउनुपर्ने र युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

जनताको मागलाई प्राथमिकतामा राख्दै नगर प्रमुख जैसवालले विद्यालय सुधारसँगै विकास योजनाहरू अघि सारे। रामबालक यादवको घरदेखि जयराम पटेलको घर हुँदै रामबाबु चौधरीको घरसम्म र जयराम पटेलको घरदेखि छठघाटसम्म पक्की ढलान निर्माण, छेदी चौकदेखि विजय यादवको घर हुँदै खोलासम्म ढलान, नाला र चापाकल निर्माण, नाला सरसफाइ तथा विद्युत व्यवस्थापन सुधार र हथियाहीस्थित श्री राम जानकी मठको मर्मत कार्य छिट्टै कार्यान्वयन गर्ने उनले घोषणा गरे।

युवाहरूको रोजगारीबारे छलफलमा नगर प्रमुखले कृषि, उद्यमशीलता र सीपमूलक तालिममार्फत आत्मनिर्भरता बढाउँदै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक योगेन्द्र कुशवाहा, वडा सदस्य मोतिम मिया धोबी, सुबोध राम, वडा सभापति, वडा प्रत्यासी रञ्जित साह, समाजसेवी रुपनारायण चौधरीसहित अभिभावक र अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता थियो।

नगर प्रमुख जैसवालले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्रमुख प्राथमिकता बनाउने भन्दै श्री माध्यमिक विद्यालय जमुनियालाई आदर्श शिक्षालय बनाउन सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए। निर्वाचित भएदेखि दैनिक जनसंपर्कलाई निरन्तरता दिँदै आएका उनले जनतासँग प्रत्यक्ष भेटघाटलाई आफ्नो नेतृत्व शैलीको आधार बनाएका छन्। कार्यक्रममा सहभागी स्थानीयहरूले समस्या प्रत्यक्ष सुन्ने र तत्काल समाधानतर्फ अग्रसर हुने नगर प्रमुखको शैलीलाई जनमुखी नेतृत्वको परिचायक भन्दै प्रशंसा गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार