मलंगवा – गौर घटनासम्बन्धी सर्वोच्च अदालतको हालैको परमादेशलाई जालझेलपूर्ण भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले सोमबार सर्लाहीमा विरोध प्रदर्शन गरेको छ। जसपाले उक्त आदेशले मधेश आन्दोलन र सहिदहरूको बलिदानमाथि चोट पुर्याएको आरोप लगाएको हो।
विरोधमा सहभागीहरूले ‘मधेश जनविद्रोह हाम्रो पहिचान हो’, ‘नस्लवादी सोच मुर्दावाद’ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए। उनीहरूले इन्सेकसहित विभिन्न मानवअधिकार संगठनले सार्वजनिक गरेका प्रतिवेदनलाई सर्वोच्च अदालतले बेवास्ता गरेको भन्दै न्यायालयको दृष्टिकोणले मधेशी समुदायमाथि अन्याय गरेको दाबी गरे।

विरोधसभालाई सम्बोधन गर्दै जसपा नेपालका पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानले गौर घटना कुनै सामान्य राजनीतिक झडप नभई मधेश आन्दोलनको निर्णायक अध्याय भएको स्मरण गराए। उनले भने, ‘गौर घटना ऐतिहासिक सत्य हो, यसलाई तोडमोड गर्ने प्रयास जनताको बलिदानमाथि अपमान हो।’
यस्तै, जसपाका नेता विजय यादवले करिब १९ वर्षपछि अदालतमार्फत संघीयता र पहिचानको मुद्दा कमजोर पार्ने षड्यन्त्र भएको टिप्पणी गरे। ‘राजनीतिक पूर्वाग्रहका आधारमा अदालतलाई प्रयोग गरेर आन्दोलनको इतिहास मेटाउने प्रयास भइरहेको छ,’ उनले भने।
२०६३ साल चैत्र ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए। यस्तै, जसपाले आज सर्लाहीसहित मधेशका आठै वटा जिल्लामा बिरुद्ध प्रदर्शन गरेको छ। जसपाले सहिदहरूको त्यागलाई अपमानित गर्ने कुनै पनि आदेश स्वीकार्य नहुने चेतावनी दिएको छ।





