अध्ययन भिसामा नेपाल आएर मुस्लिम धर्मको प्रचार, इन्डोनेसियाका तीन जना महिला पक्राउ

२०८२ भाद्र ५, बिहीबार १९:२५

सर्लाही – नेपाल प्रवेश अनुमति (भिसा)को दुरुपयोग गरी शंकास्पद गतिविधि गर्दै आएको आरोपमा इन्डोनेसियाका तीन महिला पक्राउ परेका छन्। अध्यागमन विभागले पर्यटक र अध्ययन भिसामा आएका ती महिलालाई ललितपुरबाट नियन्त्रणमा लिएको हो।

अध्यागमनका अनुसार तीमध्ये एक जना पर्यटक भिसामा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए। तर अनुसन्धानमा उनीहरू कुनै शैक्षिक संस्थामा भर्ना नभएको पाइएको छ। बरु उनीहरूले ललितपुरको धोबीघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाज नामक संस्थामा गर्ल्स होस्टेल सञ्चालन गरी धार्मिक गतिविधि चलाईरहेको देखिएको विभागको भनाइ छ।

उनीहरूले उक्त होस्टेलमा छात्राहरुलाई टर्कीस भाषा र कुरान पढाउने मात्र नभई मुस्लिम धर्म प्रचारसमेत गर्दै आएको पाइएको छ। अध्यागमन विभागका अनुसार सो संस्थाले अन्तर्राष्ट्रिय स्रोतबाट प्रत्येक वर्ष करिब दुई करोड ५० लाख रुपैयाँ धर्म प्रचारका नाममा प्राप्त गर्ने गरेको तथ्य भेटिएको छ।

विभागले गरेको छापामारी क्रममा सो होस्टेलमा करीब ५० जना छात्रा कुरान पढिरहेको अवस्थामा ती इन्डोनेसियाली महिलाहरूलाई पक्राउ गरिएको थियो। अनुसन्धानमा ती छात्राहरू अन्य कुनै शैक्षिक संस्थामा भर्ना नभएको तथ्य पनि बाहिर आएको छ। त्यस्तै ललितपुरको ज्वागलमा पनि ‘ब्वाइज होस्टेल’ सञ्चालन गरी विभिन्न जिल्लाका बालबालिकालाई कुरान पढाउने र धर्म प्रचार गर्ने काम भइरहेको देखिएको छ।

नेपालको अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार पर्यटक वा अध्ययन भिसामा आएका विदेशीले रोजगार, व्यवसाय वा अन्य संस्थागत काम गर्न पाउँदैनन्। भिसाको उद्देश्य विपरीत गतिविधि गरेको पाइएमा उनीहरूलाई जरिवाना तिराउनेदेखि निष्कासनसम्मको कानुनी कारबाही हुने व्यवस्था छ। विभागले पक्राउ परेका महिलामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार