सर्लाही – गौर हत्याकाण्ड सम्बन्धी छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशप्रति आपत्ति जनाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार सर्लाहीको बरहथवा बजारमा विरोध प्रदर्शन गरेको छ।
नगर कमिटी बरहथवाको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले “उपेन्द्र यादवमाथि षड्यन्त्र बन्द गर”, “मधेस आन्दोलनको अपमान बन्द गर” जस्ता नाराबाजी गर्दै सरकार र न्यायालयप्रति असन्तुष्टि ब्यक्त गरेका थिए।

विरोध प्रदर्शनमा जसपा सर्लाहीका पूर्व जिल्ला सचिव रणधिर यादवले सर्वोच्चको आदेशलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवलाई नियोजित रूपमा फसाउने षड्यन्त्र भइरहेको आरोप लगाए।
उनले यस्तो कदमले मधेसमा पुनः आन्दोलन भड्किन सक्ने चेतावनीसमेत दिए। त्यसैगरी संविधानसभा सदस्य तथा जसपा नेपालकी केन्द्रीय सदस्य किरण कुमारी यादवले अदालतको कदमले मधेसी जनताको हक, अधिकार र पहिचानका लागि चलिरहेको आन्दोलनलाई कमजोर पार्ने प्रयास भएको बताइन्।





