सर्लाही – पर्सा प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा दुई जनालाई नगदसहित पक्राउ गरेको छ। वीरगन्जको इदगाहचोकमा गरिएको विशेष अपरेशनबाट १४ लाख १३ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका – २ का संजयकुमार साह र बारा महागढीमाई नगरपालिका–४ का शनि कुमार ठाकुर रहेका छन्। विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरू बोकेको रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले बताए।

प्रहरीका अनुसार उनीहरू सवारी साधन प्रयोग गरी रकम लुकाएर लैजाँदै गरेका थिए। बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका दुई मोटरसाइकलमा फल्स सिलिङ बनाएर रकम लुकाइएको अवस्थामा फेला परेको हो।
बरामद नगदमध्ये १० लाख रुपैयाँ हजार दरका नोट र बाँकी ४ लाख १३ हजार रुपैयाँ पाँच सय दरका नोट रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





